Home » » आमाका सपनाहरू : कविता दीप ज्योति थापा

आमाका सपनाहरू : कविता दीप ज्योति थापा

आमाका सपनाहरू :
 कविता
 दीप ज्योति थापा

सानो छँदा बाले भन्नुहुन्थ्यो-
 "देशभन्दा ठुलो अरू केही हैन बाबु !
"कैयौँपटक कसम खाएँ- "देश छोड्दिनँ ।"
 उकालीओरालीमा भेटिने सामलीहरू भन्थे-
 "जिन्दगी यस्तै हो"
 कैयौँपटक देउरालीको देउतालाई सोधेँ- "के लेखिएको छ भाग्यमा ?" 
आँखाभरि कैद गरेर पाठशालाको चित्र
 गोठालोमै लेखेँ क माने कचिया ख माने
 खर्क ग माने गरिब कैयौँपटक पानीले 
मेटाइदियो माटोका अक्षरहरू । 
 वर्षभरि कुटोकोदालो गर्दा पनि पेटभरि अन्न नपुग्दा जब 
अतालिन्थेँ बुनिरहेको सुकुल देखाउँदै आमा भन्नुहुन्थ्यो- 

"दुःखसुख परालझैँ बेरिएर आउँछ धैर्य गर्नुपर्छ लाटा !"
 धैर्य गर्न सकिनँ मैले कसम तोडेँ देश छोडेँ । 
अहिले झुन्डिएको होला मूलढोकामाथि 
मेरो तस्बिर बाडुली लाग्छ तस्बिरमाथि हात फेरेर सायद, 
आमा मलाई सम्झी रहन्छिन् । 
अनगिन्ती प्रश्नहरूले लखेटी रहन्छन् 
जीवन बाँच्दै छु वा जीवनलाई बचाउँदै छु ?
 मध्यरातमा चिच्याउन पुग्छु- "आमा !" भनेर । 

सम्झँदा मन पोल्छ गाउँको गोधूलिको 
रङ्गीबिरङ्गी छटा सुगन्ध बोक्ने फूलहरू
 घिन्ताङ मादल बज्ने निमाको रोदी कत्रो भयो होला ? 
मैले रोपेको बकाइनो ! उस्तै होला ? जुनुको मप्रतिको प्रेम !
 उनलाई सुनाउने छु- "हाम्रो पसिना रेगिस्तानमा मिसिएछ
 त्यसै नुनिलो भएको हैन त्यहाँको बालुवा ।"
 जिन्दगी मदारी बनेर बाँदरझैँ नचाई रहेछ । 

घर फर्केर पुरा गर्नुछ आमाका सपनाहरू 
निखनिएको खेत ओत लाग्ने आफ्नै झुपडी
 जस्केलोबाटै देखिने तुलसाको मठ । 


आमाले कैयौँपटक भनेकी छिन्
- "तँ जन्मदा खुसीले खुबै रोएको थिएँ बाबु !
" के साँच्चै पुरा गर्न सकुँला ? 
मैले आमाका सपनाहरू !

 रचनाकालः २०७१ जेठ २२
 हेटौँडा-६, मकवानपुर (नेपाल) 
E-mail: deepjyotithapa94@gmail.com
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger