२९ भदौ, विश्वमै दुर्लभ मानिएको ‘रेडपान्डा’ संरक्षणका लागि इलामका सात गाउँ विकास समितिका विद्यालयमा रेडपान्डासम्बन्धी विषयको अध्यापन हुने भएको छ ।
रेडपान्डा संरक्षणमा विद्यार्थी परिचालन गर्न पाठयक्रम तयार गरी यसै शैक्षिकसत्रदेखि लागू गरिने भएको हो । रेडपान्डा नेटवर्क नेपालले तयार पारेको पाठयक्रम इलामका जमुना, मावु, जोगमाई, प्याङ, माईपोखरी, पुवामझुवा र नयाँबजार गाविसका २५ विद्यालयमा लागू हुने भएको छ ।
उच्च पहाडी जडीबुटी संरक्षण तथा उत्पादक संस्थाले पाठयक्रम अध्यापनका लागि ती विद्यालयका शिक्षकलाई दुईदिने प्रशिक्षक प्रशिक्षण तालिमसमेत दिइसकेको जनाएको छ । ताप्लेजुङका ११ विद्यालयमा रेडपान्डासम्बन्धी अध्यापन भइरहेको र पाँचथरका १२ विद्यालयमा आगामी वर्षदेखि पठनपाठनको व्यवस्था मिलाइने नेटवर्कले जनाएको छ ।
पाठयक्रमअनुसार कक्षा १ देखि १० सम्म रेडपान्डा र वातावरण संरक्षणसम्बन्धी पठनपाठन हुन्छ । विद्यार्थीबाटै यसको संरक्षण गर्न पाठयक्रम तयार पारिएको नेटवर्कका सोनामटासी लामाले बताउनुभयो । यसलाई ऐच्छिक विषयका रूपमा अध्यापन गराइने जनाइएको छ ।
विद्यालय निरीक्षक सुनिता योङहाङले स्थानीय पाठयक्रममा समावेश गरेर रेडपान्डासम्बन्धी पठनपाठनको व्यवस्था मिलाउन सकिने बताए । जिल्ला वन अधिकृत राजेन्द्र काफ्लेले विद्यालय तहदेखि नै रेडपान्डाको संरक्षण गर्न सिकाएमा मात्र यसको अवैध चोरी, तस्करी नियन्त्रण हुनेमा जोड दिए ।
लोपोन्मुख सूचीमा रहेको रेडपान्डा इलामका सामुदायिक र राष्ट्रिय वनमा पाइन्छन् । जमुनाको चोयाटार, हाँगेथाम, छिन्टापु सामुदायिक वन माईमझुवा, छान्तालुङ सामुदायिक वन माईमझुवा, माघे सामुदायिक वन माईमझुवा, कालीखोप सामुदायिक वन जोगमाई, महादेव कागे सामुदायिक वन जोगमाईलगायतका क्षेत्रमा रेडपान्डा पाइने उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका कर्मचारी फिन्जु शेर्पा बताए ।