Home » » दाग लाग्यो दोहोरीमा

दाग लाग्यो दोहोरीमा

विमल खतिवडा

“लोकदोहोरी गीतको क्षेत्र मोटाएको भन्छन् तर मोटाएको होइन, सुन्निएको हो,” अघिल्लो साता मात्र लोकगायक बद्री पंगेनी भन्दै थिए, “स्टेज सो मात्र नहुने हुन् भने धेरै दोहोरी गायक/गायिका पलायन भइसक्थे।” पछिल्लो समय गायक पंगेनीले जस्तै दोहोरी एल्बम निकालेर फाइदा नहुने भन्ने कलाकार धेरै छन्। तर, लोकदोहोरी क्षेत्रमा भविष्य खोज्दै उदाउने गायक/गायिकाको लर्को सानोतिनो छैन। सोही अनुपातमा लोकदोहोरीका एल्बम पनि उत्पादन भइरहेका छन्। लोकदोहोरीबाट झर्रा शब्द हराउँदै गएका भए पनि यसले दर्शक/श्रोताको रुचि खस्कन दिएको छैन। तर, कलाकारहरू भने अपेक्षाकृत रूपमा अझै पनि लोकदोहोरी गाएर जीवन धान्न सकिने अवस्था आइनसकेको अनुभव सुनाउँछन्।
१५ वर्षदेखि दोहोरी क्षेत्रलाई आफ्नो रोजगारको माध्यम बनाएका गायक पंगेनीे गुनासो गर्छन्, “एल्बम बिक्री हँुदैन, पाइरेसी -चोरीका एल्बम)को बिगबिगी छ। यसबारे राज्य गम्भीर नभए कलाकारको बाँच्ने आधार नै सकिने निश्चित छ।” कलाकारहरूले अहिले एल्बमबाट भन्दा पनि स्टेज कार्यक्रमबाट जीवन निर्वाह गर्दै आएको पंगेनी बताउँछन्। यही अवस्था चलिरहे स्वर भएकाहरू नभएर पैसा भएका मात्र दोहोरी क्षेत्रमा टिक्ने उनको दुःखेसो छ।
अन्य गीतसंगीतको तुलनामा दोहोरीमा जीवनकथा समेटिने भएकाले यसप्रति दर्शक/श्रोताको आकर्षण बढी हुने गरेको छ। वेदना र विरहका गीत गाउन माहिर गायक विष्णु खत्री पनि पहिलाभन्दा अहिले दोहोरी गीतका पारखी बढेको स्वीकार्छन्। “प्रविधिको विकासले गर्दा अहिले दोहोरीका पारखी बढ्दा छन्,” उनी भन्छन्, “तर, दर्शक/श्रोता बढे पनि हाम्रो आम्दानी भने घट्दो छ।” उनको भनाइ पनि पाइरेसीले गर्दा गायकहरूले स्टेजको भर परी नयाँ एल्बम निकाल्न छाडेको भन्ने छ।
दोहोरी क्षेत्र लोकपि्रय बनेकै कारण महिला कलाकारको संख्या पनि बढेको दोहोरी गायिका राधिका हमाल बताउँछिन्। १२ वर्षदेखि यस क्षेत्रमा संघर्षरत गायिका हमाल गायक/गायिकाबीच तालमेल नहुँदा गीतको पाइरेसी बढेको र स्टेजको भर पर्नुपरेको अनुभव सुनाउँछिन्। “दोहोरीमा विकृति भित्रिएकै हामी कलाकारले गर्दा हो,” हमाल भन्छिन्, “सबै कलाकार एक भए विकृतिको आफैँ अन्त्य हुने थियो।” उता गायिका देवी घर्ती पनि पछिल्ल्ाो समय गाउँमा मात्र नभएर सहरी क्षेत्रमा पनि लोकदोहोरीको बजार बढेको बताउँछिन्। “पहिला दोहोरी गीत गाउँमा मात्र धेरै सुनिने गरिन्थ्यो,” उनको भनाइ छ, “अहिले भने सहरियाहरूको रोजाइ पनि दोहोरी बनेको छ।” सहरबजार क्षेत्रमा खुलेका दोहोरी रेस्टुराँका कारण पनि यसप्रति मान्छेहरूको चासो बढेको उनको तर्क छ।
पछिल्ला दिनमा राजु परियार, शर्मिला गुरुङ, विमाकुमारी दुरा, प्रजापति पराजुली, सुनिता दुलाल, मिलन लामा र रामजी खाँडजस्ता चर्चित गायक/गायिका नाम चलेका लोकदोहोरी कलाकारहरू हुन्। अहिले सबैजसो एफएम रेडियो र टेलिभिजनमा पनि लोकदोहोरी कार्यक्रम छन्। यसले पनि मान्छेका घरघरसम्म लोकदोहोरीलाई पुर्‍याउन सहयोग पुगेको छ।
लोकदोहोरी गीतमा अश्लीलता भित्रिएको आरोप पनि लाग्ने गरेको छ। इमेज टेलिभिजनमा नौ वर्षदेखि लोकदोहोरीसम्बन्धी ‘उकाली ओराली’ कार्यक्रम सञ्चालन गर्दै आएकी गायिका अनुशा पौडेल पछिल्लो समय अन्य क्षेत्रजस्तै लोकदोहोरी क्षेत्रमा अश्लीलता नभएर ‘ग्ल्यामर’ भित्रिएको दाबी गर्छिन्। भन्छिन्, “समाजमा ग्ल्यामर रुचाउने पुस्ता पनि छ। त्यसलाई पनि ध्यान दिनुपर्‍यो नि !” कुनै बेलाका चर्चित लोकदोहोरी गायक बमबहादुर कार्की विगत र वर्तमानको लोकदोहोरीमा अन्तर देखिएको दाबी गर्छन्। “पहिला गाउँ-गाउँमा गएर शब्द खोज्ने काम हुन्थ्यो, अहिले कोठामै बसेर शब्द खोज्ने काम गरिन्छ,” ०४० सालदेखि लोकदोहोरीमा संलग्न कार्की भन्छन्, “त्यही भएर लोकदोहोरी क्षेत्रमा टिकाउभन्दा पनि बिकाउपन बढेको छ।” दोहोरीलाई जीवन्त राख्न अझै पनि मिहिनेत गर्न नयाँ गायक/गायिकालाई सुझाव दिन्छन् उनी।
दोहोरी क्षेत्रमा गायकको संख्या बढे पनि गुणस्तर खस्किँदै गएकामा अहिले चर्चामा रहेका कतिपय कलाकार पनि चिन्तामा छन्। “गुणात्मकतामा भने कमी छ,” गायक खड्क गर्बुजा भन्छन्, “लोकदोहोरी क्षेत्र पहिलाभन्दा अहिले लोकपि्रय बन्दै गएको हो तर त्यो अनुपातमा राम्रा र स्तरीय गीतहरू तयार हुन सकेका छैनन्।” अहिले दर्शक/श्रोताले पनि भावना, माया प्रेममा बगेका शब्दसहितका गीत बढी रुचाउने गरेको गायक-गायिकाको अनुभव छ।
लोकदोहोरी क्षेत्रको व्यवसायीकरण गर्ने पुस्ताका कतिपय स्रष्टा हराउँदै गए पनि नयाँ स्रष्टाले दोहोरी क्षेत्र धान्दै आएका छन्। एकताका दोहोरी क्षेत्रमा एकछत्र राज गरेका दोहोरी गायक प्रेमराजा महत र सावित्री साहको अहिले अत्तोपत्तो छैन। महत र साह अमेरिकामा छन्। बमबहादुर कार्की भने अहिले निष्त्रिmयजस्तो देखिएका छन्। कुमार बस्नेत, राम थापा, धर्मराज थापा, मीरा रानामगर, कोमल वली, खड्ग गर्बुजा, हरिदेवी कोइराला, कृष्ण थापा, नारायण रायमाझी, इन्द्र जीसी, विमल डाँगी र रामप्रसाद खनाल दोहोरीमा कहलिएका नाम हुन्। तर, पछिल्लो समय दोहोरी क्षेत्रको मलजल गर्ने काम भने नयाँ पुस्ताले गरेको छ। “पुराना स्रष्टाले हामीलाई बाटो देखाएर जानुभयो,” लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष एवं गायक पुरुषोत्तम न्यौपाने भन्छन्, “यसको रक्षा गर्ने काम नयाँँ पिढीले गरेका छौँ।”
जे भए पनि सहरदेखि गाउँसम्म लोकदोहोरी गीत घन्केका छन्। धेरथोर लोकदोहोरीका नाममा रेस्टुराँ व्यवसाय पनि चलेको छ। लोकदोहोरीको उत्पादन र बिक्री-वितरणलाई व्यवस्थित बनाउन सकियो भने कलाकारहरू यसैमा ढुक्क भएर लाग्ने अवस्था तयार हुने थियो। सरोकारवालाहरूले यतातिर ध्यान दिने हो कि !
पाइरेसीको पीडागीत-संगीतको अवैध रूपमा खरिद-बिक्री गर्नुलाई सामान्यतया पाइरेसी भनिन्छ। यस्तो समस्या सांगीतिक क्षेत्रमा व्याप्त छ। उत्पादन भएका गीति एल्बमहरूको नक्कली प्रति तयार पारी बजारमा लैजाने र किनबेच गर्ने खराब प्रचलनले गायक-गायिका तथा उत्पादकहरूलाई घाटा परिरहेको छ। त्यसैले विभिन्न कार्यक्रममा गाएर पाएको पारिश्रमिकबाट मात्र जीवन गुजारा गर्न बाध्य भएको गुनासो कलाकारको छ।
जथाभावी रूपमा गीतहरूको चोरी गरेर बिक्री हुने गरेकाले गायक/गायिकाको एल्बम बिक्री हुन छाडेको छ। यसै कारण पनि कतिपय चर्चित गायक/गायिकाले पछिल्ला दिनमा कमैले मात्र आफ्नो एकल एल्बम सार्वजनिक गर्ने गरेका छन्। सरकारले चासो दिएमा यो समस्या नियन्त्रण हुने र आफूहरूको रोजीरोटी दह्रो बन्न्ो गायक शंकरविरही गुरुङ बताउँछन्।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger